संखुवासभाको मादी नगरपालिका एक उम्लिङ खोलागाउँमा भएको छ जनाको सामुहिक हत्याकाण्डको अनुसन्धानका लागि भन्दै प्रहरीले थप छ जनालाई पक्राउ गरेको छ । तेजबहादुर कार्कीसहित हत्या भएका छ जनाको धार्मिक परम्परा अनुसार शनिबार काजकिरिया सकिए लगत्तै प्रहरीले मुख्य आरोपी भनिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाई नरेश कार्की, बुवा रणबहादुर कार्की, छिमेकी खड्गबहादुर कार्की, उनकी श्रीमती र दुई छोरासहित परिवारका चार जनालाई पक्राउ गरेको हो । सो घटनामा हालसम्म लोकबहादुरसहित पक्राउ पर्नेको संख्या सात पुगेको छ । प्रहरीले सामूहिक हत्याको छैटौं दिन मृतक तेजबहादुरको भतिज नाता पर्ने लोक बहादुरलाई पक्राउ गरी यसअघि नै सार्वजनिक गरेको छ । लोकबहादुरले नै ५५ बर्षीय तेज बहादुरसहित ८४ वर्षीया पार्वती कार्की, ५४ बर्षीया मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ वर्षीय दिपेन कार्की, ५ बर्षीया गोमा कार्कीको हत्या गरेको जानकारी दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो । प्रहरी टोलीले आइतबार लोकबहादुरको घरबाट रगत लागेका थप कपडाहरू बरामद गरेको छ । प्रहरीले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा खानतलासी गरी बाकसभित्र लुकाइएका रगतको टाटो लागेका चिसा कपडाहरू बरामद गरेको हो ।
संखुवासभा हत्याकाण्डमा थप छ जना पक्राउ
