काठमाडौं – कोभिड –१९ का बिरामीको उपचार गरिरहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ ।
सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तयार रहे पनि नयाँ बिरामी लिन नसक्ने अस्पतालले एक विज्ञप्ति जारी गरि जनाएको हो ।
अस्पतालले कोभिड बिरामीको उपचारका लागि पर्याप्त जनशक्ति भएपनि अक्सिजनको अभावका कारण नयाँ बिरामी भर्ना गर्न असमर्थ रहेको विज्ञप्तिमा जनाएको छ । अक्सिजनको आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत् संचालन गर्ने पनि अस्पतालले जनाएको छ ।