ADVERTISING

Breaking News

पुनःस्थापना भइहाले दाहाल-नेपाल प्रधानमन्त्री खोज्दै मैकहाँ आउनुहुन्छ: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भइहाले पनि पुष्पकमल दाहाल र माधव नेपाल प्रधानमन्त्री खोज्न आफैं भएको ठाउँमा आइपुग्ने बताएका छन्। आइतबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं उनले भने, ‘संसद् पुनःस्थापना भयो भने के हुन्छ अदालतलाई थाहा छैन र ? पुनर्स्थापना भयो भने प्रचण्ड र माधवजी हल गोरु नारिएझैँ प्रधानमन्त्री बन्न खोज्न थाल्नुहुन्छ, उहाँहरु कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने अवस्था छैन। त्यसैले प्रधानमन्त्री खोज्दै मै भएको ठाउँमा आइपुग्नुहुन्छ’, उनले भने, ‘पार्टी फुटाएर तपाईंहरु बाहिर अल्मलिएर बस्नुभएको छ। बाटो सच्चाएर यता आउनुहोस्।’

‘जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु भन्दा डिफेन्सिफ भयो र?,’ प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसलाई लगेर प्रतिनिधि सभा विघटन बदर हुने भएछ त्यसकारण यसो भन्यो भन्न मिल्छ ?’  केही दिन अगाडि प्रचण्डले ओली डिफेन्सीफ भइसकेको बताएका थिए।

उनले पार्टीको चुनाव चिन्हबारे पनि भ्रममा नपर्न आग्रह गर्दै सूर्य चिन्ह आफूहरूले नै पाउने दाबी गरे। प्रचण्ड एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेको भन्दै उनले आफूले २०४८ सालमा निर्वाचन आयोगमा चिन्ह दर्तागराएपछि लगातार सूर्य चिन्हबाटै चुनाव लड्दै आएको स्मरण गराए। ‘सूर्य चिह्न मान्न तयार नभएको मान्छेले सूर्य चिह्नको माग गर्नुभएको छ। उहाँ अहिलेसम्म सूर्य चिह्नमा चुनाव लड्नुभएको छैन’ ‘यता आउनुभएको थियो। फेरि पेरिसडाँडा फर्केर जानुभयो।’ प्रचण्डलाइ लक्षित गर्दै ओलीले भने ।

सरकारले तोकेको समयमा निर्वाचन हुने दाबी गर्दै तयारीमा लाग्न पनि उनले त्यहीँबाट निर्देशन दिए। उमेरले ७० वर्ष लाग्दासमेत युवासँग संगत गरेपछि युवा युवा भएजस्तो लागेको उनले सुनाए। लोकतन्त्र र संविधान जोगाएर अब देश निर्माणको अभियानमा लाग्ने उनले बताए। बहुमतको साथ प्रतिनिधि सभा विघटन गरेको हुनाले पुनर्स्थापना नहुने जिकिर गरे। प्रचण्ड–माधव पक्षले पार्टी छाडेपछि एकढिक्का भएको र हुँदै जाने पनि दाबी गरे।

leave a reply