काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अग्रज सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत एवं मासिक रुपमा जीवन निर्वाह भत्ताको व्यवस्था गर्न माग गरेको छ । मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई १६ बुँदे ज्ञापन पत्र बुझाउदै महासंघ काठमाडौंले ६० वर्ष उमेर पुगेका र २५ वर्ष भन्दा बढी समय निरन्तर पत्रकारिता गरिसकेका जेष्ठ तथा अग्रज सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत एवं मासिक रुपमा जीवन निर्वाह भत्ताको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।त्यस्तै समानुपातिक विज्ञापन नीति लागु नहुन्जेलका लागि स्थानीय र प्रदेश तहबाट उपलब्ध गराइने विज्ञापन समानुपातिक ढँगले वितरण गर्ने व्यवस्थाका लागि नीतिगत कदम चाल्न पनि सो शाखाले माग गरको छ । ठूला संचार गृहहरुमा अहिलेसम्म श्रमजीवी पत्रकार ऐन लागू हुन नसकेको भन्दै तत्काल सरकारले हस्तक्षेप गरि ऐन लागू गराउन माग गरिएको शाखाका अध्यक्ष शान्ताराम बिडारीले जानकारी दिए । त्यस्तै उनले सूचना विभागको परिचयपत्र भएका संचारकर्मी र संचालनमा रहेका संचारगृहलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुका साथै ‘एक संचारगृह, एक सवारी साधन’को व्यवस्था गरी भन्सार छुटको नीति ल्याउन माग गरिएको जानकारी बताए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले महासंघको माग सकारात्मक रहेको बताए । त्यस्तै उहाले परिवर्तित सन्दर्भमा सञ्चारकर्मीले सन्तुलन र सहि सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
महासंघ काठमाडौं शाखाले प्रेस काउन्सीलद्धारा गरिदै आएको पत्रपत्रिकाहरुको वर्गिकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गर्न पनि माग गरेको छ ।
अग्रज सञ्चारकर्मीलाई कोभिड राहत एवं जीवन निर्वाह भत्ताको व्यवस्था गर्न महासंघको माग
