बुटवल : नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निरंकुशता लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । नेकपा दाहाल–नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले राजामहाराजाको निरंशुकता नटिकेको नेपालमा ओलीको निरंकुशता धेरै दिन टिक्न नदिने बताए ।
प्रधानमन्त्री ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग आफू मातहत राखेको पुनको भनाइ छ ।
संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने फरक रहेको पुनको भनाइ थियो । असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने उनले चेतावनी दिएका छन् ।
नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणीसमेत गरे ।