संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि उनीहरुलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको हो ।
उनीहरुलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि प्रहरीले सुरक्षित स्थानमा सारेको हो । पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजी भने अझै जारी छ । स्थानीयवासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेनाले खोजी जारी राखेपछि बेपत्ता फेला परेको छैनन् । अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अविरल बर्षासँगै गएको पहिरोले ९ घर बगाएको छ ।
पहिरोमा परी ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरु २१ वर्षीया एन्जीला राई, ११ वर्षीया नम्रता राई बेपत्ता छन् । यसैगरी गोरी माया राई र २२ वर्षीया प्रकृति राई सम्र्पकमा छैनन् । अर्का ५२ वर्षीय जुद्धबहादुर राई र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई पनि हराइरहेका छन् । त्यसैगरी ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई, उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई पनि बेपत्ता रहेका छन् ।।