काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा पार्न निर्देशन दिएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पार्दा अवस्था भयावह हुनसक्ने भएकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताएका हुन् । कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा लकडाउन खुकुलो बनाउन नहुने भन्दै प्रधानमन्त्रीले जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएको एक मन्त्रीले जानकारी दिए । कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा शुक्रबारबाट लकडाउन खुकुलो पारिएको थियो । लकडाउन खुकुलो पारिएसँगै राजधानीमा चहल पहल बढेको छ भने यति नै बेला कोरोना संक्रमितको संख्या बढेको छ । बुधबार मात्रै ५७ जना कोरोना संक्रमित थपिएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको लकडाउन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए । यसैबीच प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले सडक बनाएको कुरा आफूलाई कसैले जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएका थिए । बैठकमा सरकारले आगामी बर्षका लागि ल्याउने नीति तथा कार्यक्रममाथि पनि छलफल भएको थियो । सरकारले जेठ २ गते ल्याउने नीति तथा कार्यक्रमका लागि राष्ट्रपतिलाई संसदमा पेश गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।।
लकडाउन खुकुलो बनाइएकोमा प्रधानमन्त्री ओली रुष्ट, भयावह अवस्था आउने भन्दै कडा बनाउन निर्देशन

Post navigation
- Tags:
- breaking