नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा सीधा उडान भर्ने

nepal airlines

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले मलेसियाको क्वालालम्पुरबाट भैरहवाको उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सको जहाजले पहिलोपटक क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्न लागेको हो । मंगलबार विहान निगमको विमान क्वालालम्पुरबाट उडेर भैरहवामा अवतरण हुने तय भएको हो । निगमको पहिलो क्वालालम्पुर–भैरहवा उडानका यात्रुलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफै भैरहवा जाने तयारी गरेका छन । भैरहवाबाट हाल निगमले हप्ताको एक उडानबाट सुरू गर्ने बताइएको छ । यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि क्वालालम्पुर र जोहोरबारूसम्म, त्यसैगरी जोहोरबारूबाट समेत काठमाडौं वा भैरहवासम्मको टिकट लिई सहज रुपमा यात्रा गर्न सक्ने बताइएको छ । गौतमबुद्धको जन्मस्थानमा अन्तर्राष्ट्रिय यात्रुलाई समेत आकर्षण गर्ने गरी थप ट्राभल प्याकेजहरूको पनि व्यवस्था गरिने निगमले बताएको छ । निगमले मलेशियाबाट भैरहवासम्मको एकतर्फी टिकटको मूल्य प्रतियात्रु १२ हजार ७ सय तोकेको छ । त्यस्तै क्वालालम्पुर–भैरहवा–काठमाडौंका लागि भने १४ हजार २ सय रुपैयाँ प्रतियात्रु भाडा दर तय गरिएको छ ।

प्रतिक्रिया