इजरायली आक्रमणले गाजामा एक प्रतिशत जनसंख्याको मृत्यु

पछिल्लो आक्रमणमा दुई सय दश प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजापट्टीमा हवाइ तथा स्थल आक्रमण जारी राखेको छ । इजरायली सेनाले बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरमा आक्रमण तिब्र बनाएको हो । उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चोकमा इजरायली बमबारीमा ३० भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै रफाह शहरको आवासीय क्षेत्रमा गरिएको हवाइ हमलामा कम्तिमा २० जना प्यालेस्टाइनी मारिएका छन् । इजरायली आक्रमणमा गएराति दक्षिणी सहर खान युनिसमा आठ जना प्यालेस्टिनी मारिएका छन् । मध्य गाजाको माघाजी शरणार्थी शिविरमा क्षेप्यास्त्र प्रहारबाट तीन जना प्यालेस्टिनी मारिएका छन् भने ६ जना घाइते भएका छन् । गएको चौबीस घण्टामा दुई सय दश जना प्यालेस्टिनी मारिएको बताइको छ । इजरायली आक्रमणमा गाजाको कुल जनसङ्ख्याको एक प्रतिशत व्यक्तिको ज्यान गएको छ । इजरायलको सैन्य हमलामा हालसम्म एक्काइस हजार तीन सय बिस प्यालेस्टिनीको मृत्यु भएको छ । गत अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार दुई सयको मृत्यु भएको थियो । त्यसपछि इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको छ ।  

प्रतिक्रिया