अफ्रिकामा झण्डै दश करोड बालबालिका तथा युवा विद्यालयको पहुँचबाहिर

काठमाडौं । अफ्रिकामा झण्डै दश करोड बालबालिका तथा युवा विद्यालयको पहुँचबाहिर रहेका पाइएको छ । ६ देखि १९ वर्ष उमेर समूहका झण्डै दश करोड बालबालिका तथा युवाहरू विद्यालयबाट वञ्चित भएका शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू) का आयुक्त मोहम्मद बेल्होसिनले बताएका छन् । बालबालिका तथा युवाहरू शिक्षाबाट वञ्चित हुँदा आतङ्कवादी समूह, लागुऔषध व्यापारी र मानव बेचबिखनकर्ताको जोखिममा पर्ने गरेका छन् । इथियोपियामा भैरहेको एयू शिखर सम्मेलनमा बेल्होसिनले उनीहरूलाई व्यावसायिक र प्राविधिक प्रशिक्षणको माध्यमबाट स्वरोजगारका लागि सीप आवश्यक रहेकोमा जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आयुक्त बेल्होसिनका अनुसार अफ्रिकाका हरेक १० मध्ये नौ जना बालबालिकाले १० वर्षको उमेरमा पनि साधारण पढ्न र बुझ्नसमेत नसक्ने अवस्था रहेको छ । अफ्रिकालाई विश्वव्यापी शिक्षाको पहुँच हासिल गर्न झण्डै ९० अर्ब अमेरिकी डलरको आवश्यकता रहेको र कोषलाई पूरा गर्न विश्वव्यापी सहयोगको आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया