प्रहरीले कुशलतापूर्वक राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ८२ औं समूहको दीक्षान्त समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन प्रहरी सफल हुने विश्वास प्रकट गरेका हुन । प्रधानमन्त्री दाहालले विज्ञान र प्रविधिमा भएको तीव्र विकाससँगै नयाँ–नयाँ सुरक्षा चुनौतीहरू थपिइरहेको समेत उल्लेख गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी संगठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताए । विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न उनले निर्देशन समेत दिए । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले तथ्यपरक तथा प्रमाणमुखी अनुसन्धानका लागि प्रविधिको प्रयोग विधिसम्मत, वैज्ञानिक र कार्यविधिगत प्रक्रियाको पालना गरी संकलित तथ्यको विश्लेषण गर्दै मानवअधिकारको अन्तर्राष्ट्रिय मापदण्डलाई शिरोधार्य गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिए। उनले लैंगिक संवेदनशीलताको मर्मलाई मनन् गर्दै विशेष जोखिमपूर्ण, सीमान्तकृत र पीडित वर्गको रक्षकका रुपमा प्रहरी संगठन खरो रुपमा उत्रिनुपर्ने बताए । समारोहमा प्रशिक्षणमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने प्रहरी निरीक्षक पवनकुमार परियार, सगुन खड्का, आयुष ढुंगाना र गोकुलकुमार धानुकलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया