नेपालको कम्युनिस्ट आन्दोलनबारे गम्भीर समीक्षा गर्नुपपर्छ: विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएकी छिन् । ललितपुरको गोदावरीमा आज एमालेले आयोजना गरेको नेकपा स्थापनाको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालका कम्युनिस्टहरूको विभाजन विचारका आधारमा भएको हो कि पदको लोभमा भन्नेबारे गम्भीर भएर सोच्नुपर्ने बताएकी हुन । अन्य देशमा कम्युनिष्ट सफल भएपनि नेपालमा कम्युनिस्टहरूको विभाजन विचारमा भएको हो कि पदको लोभमा, यसबारे ठोस निष्कर्ष निकाल्नुपर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ । 
पूर्वराष्ट्रपति भण्डारीले समाजवाद ल्याउन दलहरू अग्रसर हुनुपर्ने पनि उल्लेख गरिन । दलहरूले घोषणापत्र अनुसार काम गर्नु स्वाभाविक भए पनि केही विषयमा भने राष्ट्रिय सहमति गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा नेकपा एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको थियो । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रुपमा सो सम्मान प्रदान  गरेका हुन । एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाहरुको राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै एमालेले सो सम्मान गरेको हो । कार्यक्रममा  एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार परेको वृत्तचित्र सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया