पीडित श्रेष्ठ परिवारसँग गृहमन्त्रीले भनेः व्यक्ति नभइ मुलुक जोगाउन काम गर्दैछु

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्वर्गीय श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उनका पुत्र रोहन श्रेष्ठले खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गरेका हुन् । परिवारले कुनैपनि राजनीतिक दलहरुको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेको खबरदारी गरेका हुन । 
खाम पक्राउ परेपछि आफू र परिवारमाथि सुरक्षा चुनौति बढेको परिवारको भनाइ छ । पीडित परिवारसँगको भेटमा गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभइ सत्यको आधारमा कारबाही गर्ने प्रतिबद्धता जनाए । 
काम गर्न जटिलता भएपनि अपराधीलाई उन्मुक्ति नदिने भन्दै उपप्रधानमन्त्री लामिछानेले कसैप्रति आग्रह, पूर्वाग्रह नराखिकन काम गरिरहेको दाबी गरे । व्यक्ति जोगाउने नभइ आफू मुलुक, व्यवस्था, जनता र न्याय जोगाउने काममा आफु लागेको उनको भनाइ थियो । 

प्रतिक्रिया