आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते आज र भोलि ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै रोगहरुबाट सुरक्षित रहन नियमित खोप लगाउन आग्रह गरेको छ । खोप लगाउन छुटेकाहरूले नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन सक्ने पनि मन्त्रालयले सूचनामार्फत आग्रह गरेको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने लक्ष्य सरकारको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने छन । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा निःशुल्क खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।।      

प्रतिक्रिया