शैक्षिक संस्थामा राजनीतिकरण अन्त्य गर्न प्राज्ञिक समूहको प्रधानमन्त्रीलाई ज्ञापन

काठमाडौं । प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । आज त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । भेटपछि पत्रकारसँग कुरा गर्दै प्राज्ञिक समूहले कुनै शैक्षिक संस्थामा पनि राजनीतिकरण, हस्तक्षेप र खेलवाड हुनेछैन भनेर राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए । 
 विश्वविद्यालयको र प्राज्ञिक क्षेत्रको सुधारका लागि राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता, क्षमता र प्रतिवद्धताकै आधारमा छान्नुपर्ने पनि उनीहरुले बताएका छन । दलीय निकटताको हिसावले नभएर योग्य मानिस र क्षमतावान मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुने प्राज्ञहरुको भनाइ छ । 
भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्वन गर्ने प्रतिबद्धता जनाएका छन । राजनीतिक दलहरूलाई अहस्तक्षेपको नीतिमा प्रतिवद्धता व्यक्त गर्न अनुरोध गर्नेहरूमा डा. गौरीशंकरलाल दास, डा. गोविन्द पोखरेल, डा. सन्दुक रूइत, डा. अर्जुन कार्की, डा. जेपी अग्रवाल, डा. नरेशमान बज्राचार्य, डा. असिम ढकाल, डा. भगवान कोईराला, डा. विष्णु उप्रेती, डा. धर्मकान्त बास्कोटा, डा. देवेन्द्रराज पाण्डे, डा. लवदेव अवस्थी, डा. मदन उपाध्याय, डा. महेश मास्के, केदारभक्त माथेमा लगायत रहेका छन । 

प्रतिक्रिया