सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एउटै पार्टीका दुई सांसदले दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एउटै पार्टीका दुई सांसदले दाबी पेस गरेका छन् । नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदहरू कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा आइतबार दाबी पेस गरेका हुन । कैलाश नाउपा संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठनिकट र लक्ष्मणकिशोर नाउपा संरक्षक रेशम चौधरीनिकट हुन । दुई जनाको दाबी पछि  प्रदेश प्रमुख कार्यालय परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले संघीय गठबन्धनअनुसार नै प्रदेश सरकार बन्ने दाबी गरेकी छिन । 
पार्टीभित्र मतभेद हुँदा नाउपाका दुई सांसदले फरक–फरक गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन । कैलाशलाई संघीय सरकार बनाएको सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको साथ छ भने केही नाउपा सांसदको पनि सहयोग छ र साथै लक्ष्मणकिशोरलाई नाउपाका ४, नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४ सांसदको साथ छ । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् ।  मुख्यमन्त्रीमा दुई जनाको दाबी परेकोले अध्ययनकै क्रममा रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश प्रमुख नाजिर मियाँले आवश्यक परे सांसदहरूको हस्ताक्षर सनाखत गर्न सकिने संकेत गरेका छन । एकै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा केही समय लाग्ने देखिएको छ । सुदूरपश्चिममा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।
 

प्रतिक्रिया