अर्थमन्त्री पुन संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन गएराति सवा २ बजे कतार एयरबेजको जहाजबाट उनी अमेरिका गएका हुन । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र उपसचिव भूपालराज शाक्य छन् । अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त डीएफआई परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ लगायतसँग भेट गर्ने कार्यक्रम छ । मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन समेत गर्नेछन । मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरुमा सहभागी हुने बताइएको छ ।
 

प्रतिक्रिया