मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्काललाई टर्यो

काठमाडौं । इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना बढेको छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला इरानले इजरायलमा एकैरात तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि तत्काल ठूलो युद्धको सम्भावना बढेको थियो । तर अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दवाव दिएपछि इजरायल पछि हटेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । इरानले थप आक्रमण नगर्ने बताउनु, अमेरिकाले तत्काल इरानविरुद्ध आक्रमण नगर्न इजरायललाई दवाव दिनु र आफू पनि युद्धमा सहभागी नहुने बताउनु तथा इजरायलले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै कुटनीतिक निर्णय गर्नुले युद्ध नफैलने सम्भावना बढेको हो । शनिवार राति इरानले प्रहार गरेका तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतभन्दा धेरैलाई प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको थियो । इरानले इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशले निन्दा गर्दै त्यो आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका थिए । संयुक्त राष्ट्रसंंघका महासचिव एन्टोनियो गुटेरसले इरानले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताएका थिए । फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया लगायतका अमेरिकाका सहयोगीले इरानको आक्रमणको विरोध गरेका छन् ।
 

प्रतिक्रिया