मिथिला क्षेत्रमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न

काठमाडौं । मिथिला क्षेत्रमा वासन्ती चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् । आज बिहान अर्घ दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा गहुँको पिठो सख्खरमा मुछेर घ्यूमा पकाइएको मिष्टान्न परिकार विवाहित छोरी चेली, दिदीबहिनी, मितमितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ । वासन्ती छठ षष्टी तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै समापन गरिन्छ । छठ शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइन्छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने मैथिल जनविश्वास छ ।

प्रतिक्रिया