त्रिकोणात्मक टी–ट्वान्टी मैत्रीपूर्ण कप क्रिकेटमा आज नेपाल र बरोडाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । त्रकोणात्मक टी– ट्वान्टी मैत्रीपूर्ण कपमा नेपालले आज बरोडासँग खेल्दैछ । भारत गुजरातको भापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा  सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जितका लागि मैदान उत्रनेछ । पहिलो खेलमा गुजरातमाथि आठ विकेटको जित निकालेको नेपाल आजसमेत उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र बरोडा दुबैले आज दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई आठ विकेटले हराएको थियो । हिजोको भएको खेलमा गुजरातले बरोडालाई पाच विकेटले हरायो । भोलि बुधबार नेपालले गुजरातसँग खेल्नेछ । शुक्रवार नेपाल र बरोडा बीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । नेपाल विश्वकपको तयारी स्वरुप गुजरात र बरोडासँग सिरिज खेल्न भारत गएको हो । नेपालले प्रतिस्पर्धा गर्ने भारतका दुवै टोली राज्य स्तरका हुन । त्रिकोणात्मक सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन् । जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।

प्रतिक्रिया