बैदेशिक रोजगारीमा जाने र आउनेसँग भद्र व्यवहार गर्न अध्यागमन विभागलाई गृहमन्त्रीको आग्रह

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन हेरेर देशको अवस्था कस्तो छ भन्ने कुरा विदेशीले थाहा पाउने भएकाले सुधार आवश्यक भएको बताएका छन् । आज अध्यागमन विभागको निरीक्षणमा गएका लामिछानेले अधिकारीहरूको ब्रिफिङ सुनेपछि अध्यागमनलाई सुधार गर्न निर्देशन पनि दिएका छन् । अध्यागमनले वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न उपप्रधान तथा गृहमन्त्री लामिछानेले आग्रह गरेका हुन । गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने वैदेशिक रोजगारीमा जाने नेपालीलाई अध्यागमनले सहानुभूतिसहितको व्यवहार गर्नुपर्ने बताएका थिए । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन उनको निर्देशन थियो  । नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्नेमा लामिछानेले जोड दिए । अध्यागनमा केही खराब मान्छेका कारण इमानदार कर्मचारीले पनि दुःख पाउने गरेको लामिछानेको भनाइ थियो । अध्यागमन विभाग कालिकास्थान, काठमाडौंमा भएको कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिए । विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे गृहमन्त्री र सचिवालाई जानकारी गराए । 
 

प्रतिक्रिया