वसन्त ऋतुको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन शुरु

पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन शुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन शुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका अनुसार सोमबारसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन् ।  जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् । सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको र आजदेखि अनुमति दिन शुरु गरिने विभागले जनाएको छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सय ७८ ले अनुमति लिएका थिए ।  यो वर्ष पनि सोही सङ्ख्यामा आरोही आउने विभागको विश्वास छ । सगरमाथा आरोहणका लागि हालसम्म ३० भन्दा बढी विदेशी आरोहीले बुकिङ्ग गरिसकेका छन । बुकिङ्ग गर्नेमा चिनियाँ र युरोपका आरोही समेत छन । अनलाईन बुकिङ गर्नसक्ने व्यवस्था मिलाईएकाले आरोहीलाई सहज हुने विभागको विश्वास छ । 

प्रतिक्रिया