कामदार चढेको ट्याक्टर अछामको मेल्लेखमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । अछामको मेल्लेख गाउँपालिकाको षोडशादेवीबाट साँफेबगर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  मेल्लेख गाउँपालिका–७ सुयडमा आज बिहान भएको दुर्घटनामा मृत्यु हुनेमा मेल्लेख गाउँपालिका–१ ऋषिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामी छन् । यस्तै, घाइते हुनेमा सोही वडाका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी छन् भने घाइते भएका एक जना बालकको विवरण हालसम्म खुलेको छैन । घाइते तीन जनाको उपचारका लागि जिल्लाको बयलपाटा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  सुदूरपश्चिम प्रदेश ००१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको र कारण खोजी भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका व्यत्तिहरु साँफेबगर–मेल्लेख सडक खण्डका कामदारहरु रहेको बताइएको छ ।

प्रतिक्रिया