नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधरमा रहेकोे छ: सभामुख

सभामुख देवराज घिमिरेले नेपाल सबै राष्ट्रहरूले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैं अडिग रहेको बताएका छन् । स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका संघ –आईपीयू को १४८औँ महासभालाई सम्बोधन गर्दै उनले नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको पनि बताएका हुन । सभामुख घिमिरेले ‘ठूला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्वलाई स्वीकार र सहन गर्न नचाहँदाका दुष्परिणामहरू हामीले इतिहासका अनेक कालखण्डमा भोगिसकेको समेत स्मरण गराए । असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको नेपाल सबै राष्ट्रहरूले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्ने उनको भनाइ छ । वर्तमान समयमा भने संसारका विभिन्न भागमा राष्ट्रहरूबीच तनाव र द्वन्द्वको स्थिति सिर्जना भएको पनि सभामुख घिमिरेले स्मरण गराए । राज्यको नेतृत्वले संसद र आम नागरिकको भावना नबुझी आफूखुसी चालेका कदमहरूबाट धेरैजसो तनावहरूको उत्पति भएको उनको बुझाइ छ । सरकारका गतिविधिहरूको निगरानी गर्ने भूमिकामा रहेको संसदले यस्ता स्वेच्छाचारी कदमहरूमा रोक लगाएर अन्तर्राष्ट्रिय समुदायमा शान्ति र समझदारी कायम गर्नुपर्ने उनले बताए । सभामुख घिमिरेले नेपालले जलवायु परिवर्तनको मार सहिरहेको पनि बताए । नेपालमा रहेका उच्च हिमालहरूको हिउँ पग्लिने क्रम तीव्र हुँदा त्यस मुनिका पर्यावरण चरम जोखिममा परेको उल्लेख गर्दै सभामुख घिमिरेले यसले समुद्रसँग नजिक रहेका टापु राष्ट्रहरूलाई पनि जोखिममा पारेको बताए । यो गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउनुपर्नेमा उनको जोड थियो ।। आफ्नो राष्ट्रले गरेका वाचाहरू इमानदारीका साथ पूरा गर्न सरकारहरूलाई झकझक्याउनु सांसदहरूको कर्तव्य भएको पनि सभामुख घिमिरेले स्पष्ट पारे ।

प्रतिक्रिया