भन्सार विभागको तथ्याङ्क: चीनतर्फको निर्यातमा उल्लेख्य सुधार

चीनतर्फको निर्यातमा उल्लेख्य सुधार देखिन थालेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष आठ महिनासम्ममा नेपालले चीनतर्फ एक अर्ब ९५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । यो २०७९ को सोही अवधिसम्मको तुलनामा करिब चार गुणाले बढी हो । गत वर्ष फागुनसम्म नेपालले ५१ करोड रुपियाँको वस्तु चीनमा निर्यात गरेको थियो । एकै वर्षको अन्तरमा चीनतर्फको निर्यातमा उच्चतम सुधार देखिएको विभागकै तथ्याङ्कले पुष्टि गर्छ । विभागका अनुसार फागुनसम्म चीनमा सबैभन्दा धेरै ३१ करोड २२ लाख रुपियाँको गलैँचा निर्यात भएको छ । त्यसपछि टेबल तथा भान्साका लागि उपयोगी वस्तुहरू २५ करोड ३७ लाख रुपियाँको निर्यात भएको छ । नेपाली यार्सागुम्बाको सबैभन्दा ठुलो बजारसमेत रहेको चीनमा फागुनसम्म २२ करोड ८७ लाख रुपियाँको उक्त जडीबुटी निर्यात भएको छ । यसबाहेक चीनमा पास्ता, फेल्ट, कपडा, काठका सामग्री र वाद्यवादन पनि उल्लेख्य मात्रामा निर्यात भएको छ । चीनमा निर्यात सुधार देखिए पनि आयातको तुलनामा त्यो अत्यन्त न्यून देखिन्छ । फागुनसम्म नेपालले चीनबाट एक खर्ब ९४ अर्ब ८७ करोड रुपियाँको वस्तु आयात गरेको छ । यस हिसाबले व्यापार घाटा मात्रै एक खर्ब ९३ अर्ब रुपियाँ छ । 

प्रतिक्रिया