इन्जिन मर्मत सकेर न्यारोबडी जहाज चैतभित्रै नेपाल फर्किने

इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज यही चैतभित्रै नेपाल फर्किने भएको छ । दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको नाइन एन एकेएक्स एयर बस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतको काम जारी रहेको र अबको दुई साताभित्र नेपाल फर्किने निगमले जनाएको छ ।  जहाज मर्मत सम्भारका लागि सम्झौता भएको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी आइएआई)ले सम्झौता अनुसार समयमै इन्जिन मर्मत गर्न नसक्दा लामो समयदेखि उतै ग्राउन्डेड भएको हो । केही समय पार्टपुर्जा उपलब्ध हुन नसक्दा ग्राउन्डेड रहेको उक्त जहाजमा अहिले कम्पनीले उपकरण तयार पारेर जडानको प्रक्रियामा रहेकाले अबको दुई साताभित्र नेपाल आइपुग्ने बताइएको छ । आइएआईसँग भएको सम्झौता अनुसार जहाजको कुनै एक इन्जिनमा समस्या आएको एक साताभित्र विकल्पमा अर्को इन्जिनको व्यवस्था गर्ने र बिग्रेको इन्जिन ६५ दिनभित्रै मर्मत गरेर हस्तान्तरण गर्नुपर्ने भए पनि सम्झौता अनुसार मर्मतको काम हुन नसक्दा समय लागेको निगमले जनाएको छ । पुस २६ गते इजरायल पठाउनुअघि उक्त जहाज झन्डै डेढ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो । साउन पहिलो साता इन्जिनमा समस्या आएको उक्त जहाजले असोज १३ गते इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । १० दिनपछि बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर भाडाको इन्जिन जडान गरेर नेपाल आएको उक्त जहाजको इन्जिनमा मङ्सिर १४ गते समस्या आएपछि काठमाडौँमै ग्राउन्डेड भएको थियो । मासिक दुई हजार डलर भाडामा जडान भएको भाडाको इन्जिनसहित इजरायल पुगेको जहाजको अहिले साउन पहिलो साता मर्मतका लागि छाडेर आएको इन्जिन राखेर ल्याउने तयारी भइरहेको हो । जहाजसँगै इजरायल पुगेको इन्जिन भने अझै मर्मत सुरु भएको छैन । 
 

प्रतिक्रिया