सीआईबीमा कार्यरत थप चार प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’ तानिए

प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा कार्यरत थप चार प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’ तानिएका छन् । ६० किलो सुन तस्करी र भेपको सुन तस्करीमा कमजोरी देखिएपछि सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआईजी’ किरण बज्राचार्य र दुई डीएसपी यसअघि नै तानिएका थिए । प्रहरी निरीक्षक रन्जित लामा, सुरेश खत्री, कृष्ण श्रेष्ठ र वकिल सिंहलाई सीबीआईको जिम्मेबारीबाट हटाइएको हो । लामा र खत्रीलाई प्रहरी प्रधान कार्यालय र सिंह सशस्त्र प्रहरी गण नम्बर १ तथा इन्सपेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा काज सरुवा गरिएको छ । डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीसम्बन्धी अनुसन्धानमा खटिएका सीआईबीका प्रहरी अधिकारीको कमजोरी औंल्याएको थियो । आयोगको प्रतिवेदनपछि एआईजी बज्राचार्य, प्रहरी नायव उपरीक्षक दुर्गा दाहाल र रुगम कुवँरलाई यस अघि नै प्रहरी प्रधान कार्यालय तानिएका थिए ।  त्यस्तै, प्रहरी उपरीक्षक संजय थापालाई समेत नुवाकोटबाट तानिएका थिए । यसैविच ६० किलो सुन तस्करी र भेपमार्फत भएको सुन तस्करीको अनुसन्धानमा कमजोरी देखिएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययनपछि गृह मन्त्रालयले छुट्टै छानबिन समिति बनाएको हो ।  मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले सिफारिस गरेकै प्रतिवेदनलाई थप ‘भेरिफाई’ गर्न समिति बनाइएको हो । समितिमा प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयलकै अर्का उपसचिव रामबहादुर शाही सदस्य छन् । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले चैत १ मा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएका थिए । 

प्रतिक्रिया