उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ नौ दिने भ्रमणका लागि चीन प्रस्थान

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा गएका छन । नेपालको कूटनीति कमजोर बन्दै गएको आरोपका बीच परराष्ट्रमन्त्री श्रेष्ठ आज विहान चीनको नौ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन । चीनमा विदेशमन्त्री वाङ यी सँग हुने भेटवार्तामा दुईपक्षीय विविध विषयमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सत्तारुढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर गर्ने योजना भने छैन । तर नेपाल र चीनबीच सात वर्षअघि भएको सम्झौता अनुरुप बीआरआईको कार्यान्वयन योजनालगायत विषयमा भने छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । श्रेष्ठले बेइजिङपछि चीनका विभिन्न प्रान्तमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । यो भ्रमणमा श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपालीलाई सुरक्षित फिर्ता ल्याउन चीनमार्फत् कूटनीतिक पहल गर्नुपर्ने माग समेत हुँदै आएको छ ।
 

प्रतिक्रिया