पाठेघरको मुखको क्यान्सरबाट जोगाउन किशोरीहरूलाई निःशुल्क खोप अभियान

सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोप दिन शुरु गरेको छ । सरकारले वागमती प्रदेशमा १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिन थालेको हो । एचपीभीका जीवाणुका २ सय बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही वर्षबाट किशोरीहरूलाई निःशुल्क खोप लगाउने अभियान थालेको छ । दोस्रो मात्राको खोप अभियानमा चैत्र ६ गते लुम्बिनी प्रदेशमा र ७ गते कोशी, गण्डकी, कर्णाली र मधेसमा खोप लगाइएको थियो । चैत १५ गते सुदूरपश्चिम प्रदेशमा खोप दिइँदैछ । एचपिभी खोप ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट यो खोप दिन शुरू गरिएको हो । ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई लगाइने एचपीभी खोपको पहिलो मात्रा लाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ । २० हजार खोप खरिद गरेर ल्याएको सरकारले पहिलो चरणमा १० हजार किशोरकिशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइएको हो । दोस्रो चरणको खोप कहिले सुरु हुन्छ यकिन भएको छैन । क्यान्सर सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था ग्लोबल क्यान्सर अब्जरभेटरीका अनुसार नेपालमा २०२० मा २ हजार १ सय ६९ जनामा पाठेघरको मुखको क्यान्सर पुष्टि भएको छ ।।
 

प्रतिक्रिया