रोजगारी सिर्जना गर्न सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्तिलाई रोक्नका लागि आइटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन ।  प्रतिनिधि सभा अन्तर्गत आजको अर्थसमिति बैठकमा उनले गत आर्थिक वर्षमा मात्रै ७६ अर्ब बराबरको सफ्ट्वेयरहरु निर्यात भएको अवस्था रहेको भन्दै आइटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने बताएका हुन । मन्त्री पुनले सुचना प्रविधि क्षेत्रले युवा विदेश पलायनको डरलाग्दो अवस्थालाई रोक्ने, देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्र रुपमा निर्यात गर्नसक्ने भएकाले प्रमुख प्राथमिकतामा सरकारले राखेको बताए । 
मन्त्री पुनले युवाहरुलाई मुलुकभित्र स्वरोजगार बनाउने र युवा विदेश पलायनबाट रोक्ने गरी सरकारले कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाए । आगामी पाँच वर्षमा नेपालले पाँच खर्ब बराबरको सफ्टयेर नेपालबाट निर्यात गर्नसक्ने अवस्था रहेको उनको भनाइ छ । त्यही अनुसार युवालाई सूचना प्रविधिमा लगानी गर्ने सरकारको योजना रहेको मन्त्री पुनले जानकारी दिए । अर्थमन्त्री पुनले हरेक वर्ष दश हजारभन्दा बढी नेपाली युवाहरुले आइटीमा काम गरिरहेको जानकारी पनि दिए । उनले सरकारले सूचना प्रविधि क्षेत्र बाहेक कृषि, ऊर्जा, शिक्षा र स्वास्थ्यलाई न्युनतम दायित्वको रुपमा प्राथमिकता दिएर समय अनुकुल सुधार गर्ने पनि बताए । स्वास्थ्य शिक्षा सुधारका लागि विश्व विद्यालयको उपकुलपति राजनीतिक भागबण्डा भन्दा पनि प्रतिष्पर्धाबाट नियुक्तिको शुरुवात गरिएको पुनको भनाइ छ । सबैको सहयोगमा बजेट निर्माणमा सुधारको प्रयास भएको पनि उनले दाबी गरे ।। 
 

प्रतिक्रिया