बसन्तपुरस्थित हनुमानढोका अगाडि चिर ठड्याएसँगै फागु पर्व सुरु

काठमाडौ । यस वर्षको फागु ‘होली’ पर्व सुरु भएको छ । आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका अगाडि ध्वजापताकाले सजाइएको चिर ठड्याएसँगै फागु पर्व विधिवत रुपमा सुरु भएको हो । फागुन शुक्ल अष्टमीको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको ३२ फिट चिर उठाइएको हो । 
 वसन्तपुर  हनुमानढोकामा विधिवत रुपमा आइतबार बिहान तीनखण्डे चिर ठड्याएसँगै फागु सुरु भएको मानिन्छ । चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । चीर ठड्याइएसँगै स्थानीयहरूले हर्षबढाइँका साथ अबिर दलेर खुसी मनाएका छन् ।  भगवान कृष्णले गोपिनीहरु नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ । यस वर्ष यही चैत ११ गते फागु पर्व परेको छ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा सोही दिन यो पर्व मनाइन्छ भने तराई क्षेत्रमा भोलिपल्ट होली मनाइन्छ ।तीन तले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।

प्रतिक्रिया