शेर्पा समुदायले आज २१ सय ५१ औँ ग्याल्पो ल्होसार मनाउँदै

काठमाडौं । शेर्पा समुदायले आज २१५१ औँ ग्याल्पो ल्होसार मनाउँदैछ । हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउने गर्छन । आजदेखि गाई वर्ग अर्थात वर्ष पूरा भई बाघ वर्ष शुरु भएको छ ।  ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा मनाउन शुरु गरिएको बताइन्छ । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको बताइन्छ । शेर्पा समुदायमा ल्होसार तीन दिन मनाइन्छ । पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी र गुम्बामा जाने चलन छ । त्यहाँ गुरुको दर्शन गर्ने तथा आशीर्वाद लिने परम्परा छ । यो दिन अग्ला डाँडामा ध्वजापताका फहराउने पनि चलन छ । दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ । तेस्रो दिन यो समुदायका मानिस बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल भैरव, महाकाल आदिको पूजा गर्छन् । पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । शेर्पा समुदायमै पनि कतिपयले एक महिनाअघि नै ल्होसार मनाइसकेका छन् । सोनम ल्होसारकै दिन एक महिनाअघि ल्होसार मनाइएको हो । ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया