भारतसँगको सीमा जोडिएका भूभागमा राष्ट्रिय झण्डा राख्न शुरु

जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भूभागमा राष्ट्रिय झण्डा राख्न शुरु गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो । कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रुपमा शुरुवात गरिएको अभियानलाई नाकाको सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ । नेपाली भूमि जो कोहीले परैबाट चिन्न सकुन् भन्ने उद्देश्यका साथ सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । उनले भारतसँग सीमा जोडिएको नाका क्षेत्रका हरेक प्वाइन्ट, बीओपी सहितका सुरक्षा निकायका पोष्ट र खुला रुपमा रहेका हरेक नाकामा राष्ट्रिय झण्डा राखिने जानकारी दिए । प्रजिअ आचार्यले सीमा क्षेत्रको भूमिमा राष्ट्रिय झण्डा फहराउँदा सीमावासी नेपालीमा राष्ट्रियताको भावना थप उच्च हुने विश्वास समेत व्यक्त गरे । 
नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढाएको सुनसरी प्रशासनले दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमितर्फ बनाएका केही सुरक्षा पोष्ट समेट हटाएको जनाएको छ । नाकाका समस्या र स्थानीयका गुनासोबारे दुई देशीय सुरक्षा बैठकमा कुरा उठाउने समेत प्रशासनको भनाइ छ ।

प्रतिक्रिया