बैङ्कका कर्मचारी पक्राउ परेकोप्रति निजी क्षेत्रका संस्थाको ध्यानाकर्षण

काठमाडौः कर्जा दुरुपयोगको विषयलाई लिएर बैङ्कका कर्मचारी पक्राउ परेकोप्रति निजी क्षेत्रका संस्थाहरूले ध्यानाकर्षण भएको जनाएका छन् । धितो मूल्याङ्कनलाई आधार बनाएर दिइएको कर्जाका सम्बन्धमा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ पर्नु दुःखद होे भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल च्याम्बर अफ कमर्सले आ–आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् । धितो मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गएको मङ्गलवार प्रभु बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र सेन्चुरी कमर्सियल बैङ्कका पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमसहित १० जनालाई पक्राउ गरेको थियो । पछिल्लो घटनाले समग्र बैङ्किङ क्षेत्रको व्यावसायिकतामाथि नै आँच आएको निजी क्षेत्रको भनाइ छ। विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैङ्क तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गरेको विज्ञप्तिमा जनाइएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले विद्यमान ऐन तथा केन्द्रीय बैङ्कबाट जारी भएका निर्देशनहरूको अधीनमा रही निक्षेप सङ्कलन तथा कर्जा लगानी गर्ने कार्य सञ्चालन गरिरहेको निजी क्षेत्रले जनाएको छ । व्यावसायिक कर्जाको हकमा व्यवसायको कारोबार प्रकृतिअनुसार स्थिर पुँजी तथा चालु पुँजीतर्फ भिन्न–भिन्न प्रकारका कर्जा प्रवाह हुने गरेको निजी क्षेत्रका छाता संस्थाहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
 

प्रतिक्रिया