नेपाली श्रमिकको माग रोकिने दक्षिण कोरियाको सङ्केत

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग एचआरडीले नेपालको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखालाई पत्रमार्फत यस्तो सङ्केत गरेको हो ।  सन् २०२४ मा उत्पादनतर्फ आवेदन दिएका एक लाख ६३ हजारभन्दा बढीको परीक्षा सक्नै एक वर्ष लाग्ने देखिएकाले यो वर्ष थप अन्य क्षेत्रका लागि नेपाली श्रमिकको माग गर्न नसकिने सङ्केत पत्रमार्फत गरेको इपिएस शाखाले जनाएको छ । धेरैको आवेदन परेकाले परीक्षा सम्पन्न गर्न यो वर्ष पूरै लाग्ने भएकाले यस वर्ष सेवा क्षेत्रतर्फको आवेदन माग गरेर परीक्षा सञ्चालन गर्न नसकिने सङ्केत कोरियाली पक्षले गरेको हो । अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै ‘लिन नसकिने भएका कारण’ ती क्षेत्रमा अरू देशबाटै श्रमिक लैजाने जानकारी कोरियाले उक्त पत्रमार्फत दिएको शाखाले जनाएको छ । एचआरडीका जवाफले अर्को वर्ष नेपालबाट कोरियाले हाल दिएको कोटामा अझै कटौती हुने सङ्केत स्पष्ट देखिएको छ । कोरियाले यस वर्ष उत्पादनतर्फ १५ हजार नौ सय जना लैजाने भनेकामा त्यसको १० गुणा बढी एक लाख ६३ हजार बढीको आवेदन परेका छन् । दक्षिण कोरियाले नेपालसहित विश्वका १६ देशबाट इपिएसमार्फत श्रमिक लिँदै आएको छ । आर्थिक वर्ष २०७९÷८० मा इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर नेपालबाट २२ हजार श्रमिक दक्षिण कोरिया पुगेका थिए । यस्तै चालु आव २०८०÷८१ को पहिलो सात महिनामा लगभग नौ हजार नेपाली इपिएसमार्फत दक्षिण कोरिया पुगेका छन् ।  दक्षिण कोरियामा डेढ दशकको अवधिमा एक लाख पाँच हजार ९७३ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् ।। 
 

प्रतिक्रिया