बारा वर्कसप विस्फोटमा भारतीयसहित २ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

बाराको निजगढ नगरपालिकामा तीन जनाको ज्यान जाने गरी भएको विस्फोट क्रममा पक्राउ परेका एक भारतीयसहित दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । नगरपालिका–७ स्थित रोहित वर्कसपमा सोमबार भएको शंकास्पद वस्तु विस्फोटमा परी घाइते भएका ६ जनामध्ये तीन जनाको मृत्यु भएको थियो । वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तु किन्ने र बिक्री गर्ने दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता कारवाही अघि बढाएको हो । घटनाको अनुसन्धानको क्रममा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका– ९ बस्ने २९ वर्षका टीकाराम पाख्रिनलाई पक्राउ गरेको थियो । पक्राउ परेका भारतीय नागरिक जयसवाल कवाडी किन्ने व्यक्ति हुन । उनले नै विस्फोट भएको शंकास्पद वस्तु पाख्रिनसित किनेका थिए । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको बारा प्रहरीले जनाएको हो । दुवै जनालाई अदालतबाट सात दिनको म्याद पनि थप भएको छ । बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कसपमा भएको विस्फोटमा परी घाइते भएका ६ जनामध्ये वर्कसप सञ्चालक निजगढ–५ का रेशम मगर, पर्साको वीरगञ्ज महानगरपालिका– ९ बस्ने २० वर्षीय रितु रजत र भारत गवाइका ३५ वर्षीय राकेश जयसवालसहित तीन जनाको मृत्यु भइसकेको छ । घाइते तीन जना उपचाररत छन्। वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तुलाई परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको छ । 
 

प्रतिक्रिया