व्यवस्थापक र बैंकका कर्मचारी पक्राउ परेकोमा बैंकर्स संघहरुको आपत्ति

पहिला थुन अनि सुनको नीति लिएको भन्दै असन्तुष्टि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेकोमा बैङ्कर्स संघहरुले आपत्ति जनाएका छन् । बैंकिङ क्षेत्रमा धरपकड एवम् पक्राउले यो क्षेत्र नै चिन्तित र आतङ्कित बनेको उनीहरुको भनाइ छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति निकालेर पहिला सुन अनि थुन को नीति नलिइ राज्यले पहिला थुन अनि सुन को नीति लिएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रहरीको कार्यले कर्मचारीहरुको मनोबल समेत खस्कन गएका हुँदा राज्यका सम्बन्धित निकायहरु यस विषयमा गम्भीर भइदिन संघहरुले आग्रह गरेका छन् । बैंकहरूले प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरू र बैकिंङ क्षेत्रको मान्य सिद्धान्तहरूको अधिनमा रहेर काम गरिरहेको पनि दाबी गरेका छन । विज्ञप्तिमा नेपाल राष्ट्र बैंकबाट बैङ्किङ कारोबार गर्नका लागि इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही संस्थाहरूको आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकार क्षेत्र भित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएको दाबी गरिएको छ ।

प्रतिक्रिया