बारा वर्कसप विस्फोटको अनुसन्धान सुरु, प्रोजेक्टाइल हुनसक्ने आशंका

बाराको निजगढमा सोमबार तीन जनाको ज्यान लिने गरी विस्फोट भएको शंकास्पद वस्तु बारे प्रहरीले अध्ययन जारी राखेको छ । बम जस्तै देखिने सो बस्तु पन्ध्र केजी तौलको भएको बताइएको छ । शंकास्पद वस्तु बेच्ने निजगढ नगरपालिका– ९ का २९ वर्षीय टीकाराम पाख्रिन र त्यो वस्तु किन्ने रमेश जैसवाल पक्राउ परेका छन । भारतीय नागरिक जैसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका थिए । दुबैले सो सामाग्रीमा बिस्फोटक भएको थाहा नभएको बयान प्रहरीलाई दिएका छन । सो सामाग्री ६५ सय रुपैयाँमा किनबेच भएको खुलेको छ । झण्डै १५ किलो तौलको त्यो पदार्थ के थियो खुलेको छैन । तर शंकास्पद वस्तु ‘प्रोजेक्टाइल इन्टेरियल’ हुन सक्ने आशंका गरेर अनुसन्धान भैरहेको छ । बारा प्रहरीले त्यो विस्फोटक पदार्थको टुक्रा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाउने तयारी गरेको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको निजगढ बजारमा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कसपमा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।  सञ्चालक मगर पनि सो विस्फोटमा मारिएका छन । विस्फोटमा परेर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगञ्जका २० वर्षीय रितु रजत मृत्यु भएको छ । 

प्रतिक्रिया