एम्बुलेन्सबाट लुकाइ छिपाई ल्याएको गाँजा बरामद

एम्बुलेन्सबाट लुकाइ छिपाई ल्याएको गाँजा बरामद गरेको छ । नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । धनकुटाबाट तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएका हुन् । दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको हो । केही दिनअघि गाँजा तस्करीमा प्रयोग भएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो  गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो । ९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले दिए । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले  को१च २९३७ नम्बरको एम्बुलेन्समा गाँजा बरामद गरेको थियो । चालक भने फरार छन् । सशस्त्रले बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । यस्तै, एम्बुलेन्समै धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको हो । शनिबार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे१च २०३२ नम्बर एम्बुलेन्समा ५२ किलो गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया