देशभरका दुग्ध किसान सो¥ह बुँदै माग राख्दै आन्दोलित

सरकारले आफ्ना समस्या समाधान नगरेको भन्दै दुग्ध उत्पादक किसानले आजबाट क्रमबद्धरुपमा आन्दोलन गर्ने भएका छन् । विभिन्न सङ्घसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष १६ बुँदे माग राख्दै सो क्रमबद्धरुपमा आन्दोलन गर्ने भएका हुन् ।  आज राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र बुझाउने कार्यक्रम रहेको अखिल नेपाल किसान महासंघले जनाएको छ । भोलि सोमबार आफ्नो मागहरूका बारेमा संघीय संसद कोष, सहकारी तथा समितिसँग छलफल गर्ने, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १२ बजेसम्म नारा जुलुशसहित धर्ना दिने र ज्ञापन पत्र बुझाउने तयारी छ । फागुन १७ गते विहान १० बजेदेखि १२ बजेसम्म मुख्य रूपमा चक्काजाम गर्ने, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्यहरूलाई बुझाउने कार्यक्रम यसअघि नै सार्वजनिक भएको छ । यस्तै, फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरी माग पूरा नभएसम्म निरन्तर जारी रहने किसानहरुले बताएका छन । दूधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाउन , भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दूधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् । यस्तै, बिक्री नभएको दूधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दूध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायतका माग पनि किसानले अघि सारेका छन । पछिल्लो समय करिब ५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन नसकेको उनीहरुले दाबी गरेका छन् । 
 

प्रतिक्रिया