सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि खुला

सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि खुला भएको छ । कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको हो । आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्ता सेयरमा आवेदन दिन सकिनेछ । आवेदन छिटोमा फागुन १६ सम्म खुल्ला रहने छ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे फागुन २७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ । कम्पनीको उद्योग नवलपरासी जिल्ला, सुनवल जोडेनीमा रहेको छ । कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ । उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ ।।
 

प्रतिक्रिया