बन्धक रिहा नगर रफाहमा थप आक्रमण गर्ने इजरायलको घोषणा

इजरायली सेनाले आक्रमण गरेपछि दक्षिणी गाजामा रहेको सबैभन्दा ठूलो अस्पतालको सेवा बन्द भएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले डब्ल्यूएचओको टोलीलाई खान युनुस सहरको नासेर अस्पतालमा प्रवेश गर्न नदिइएको बताएका छन  । अस्पतालमा अहिले पनि झन्डै दुई सय जना घाइते र बिरामी उपचाररत छन् । डब्ल्यूएचओको टोलीले उनीहरुको अवस्थाबारे जानकारी लिन चाहेको थियो । इजरायली सेनाले कसैलाई पनि अस्पतालमा प्रवेश नदिएकाले त्यहाँभित्रका दुई सय जना घाइते र तथा बिरामीको अवस्था थाहा हुन सकेको छैन । इजरायलले नासेर अस्पताल र वरपरका क्षेत्रमा गरिएको सैन्य कारबाहीमा २० जनाभन्दा बढी हमास लडाकु मारेको बताएको छ । इजरायली सेनाले ठूलो परिमाणमा हतियार पनि बरामद गरेको दाबी गरेको छ । यसैविच इजरायलले बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा गर्न विद्रोही समूह हमासलाई समयसीमा दिएको छ ।  हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको हो । मार्च १० देखि रमजान शुरु हुँदैछ । यसैलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो । इजरायलले आफ्नो सेना गाजाको दक्षिणी भाग रफाहमा प्रवेश गरेर आक्रमण गर्ने चेतावनी दिएको यो पहिलो पटक हो । गाजाका विभिन्न भागबाट भागेर आएका १५ लाख प्यालेस्टिनीहरूले रफाहमा आश्रय लिएका छन् । बढ्दो अन्तर्राष्ट्रिय दबाबका बाबजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजिप्टको सीमावर्ती सहर रफाहमा स्थल सैन्य आक्रमणको योजना नरोक्ने बताएका छन । यसैबीच इजरायल र हमासबीच तत्काल मानवीय युद्धविराम गरिनुपर्ने मागसहित अल्जेरियाले अघि सारेको प्रस्तावमाथि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा यही मंगलबार मतदान हुने भएको छ । 
 

प्रतिक्रिया