ईपीएस कोरिया अन्र्तगत उत्पादनतर्फको भाषा परीक्षा आजदेखि सुरु

परीक्षाका लागि एक लाख चौसठ्ठी हजारको आवेदन

रोजगार अनुमति प्रणाली ईपीएस सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आजदेखि सुरु भएकोछ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या पाँच बनाइएको छ । यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले आजदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन थालिएको हो । ईपीएस शाखा र कोरिया मानव संसाधन विभाग एचआरडीले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ । ईपीएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् । इपिएस शाखाका अनुसार पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको परीक्षा हुने शाखाले जनाएको छ ।। 
 

प्रतिक्रिया