महत्त्वपूर्ण सामाजिक योगदान गर्ने पाँच व्यक्तित्वलाई मनास्लु वर्ल्ड कलेजको सम्मान

चुच्चेपाटि चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले समाजमा महत्त्वपूर्ण योगदान गरेका पाँच जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ। कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका लागि आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजना गरेको भव्य कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा आ-आफ्नो क्षेत्रमा अतुलनीय योगदान गरेका पाँच जना विशिष्ट व्यक्तित्वहरूलाई उनीहरूले उक्त क्षेत्रमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको थियो। यस अन्तर्गत गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी जगदीश खरेललाई मनास्लु सञ्चारकर्मी सम्मान २०८०, कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु शिक्षासेवी सम्मान २०८० र समाजसेवी बालकृष्ण बुर्लाकोटीलाई मनास्लु समाजसेवी सम्मान २०८० प्रदान गरिएको थियो।

सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा र प्रधानाध्यापक राजन श्रेष्ठले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्।

सम्मान ग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै चर्चित सञ्चारकर्मी जगदीश खरेलले कलेजप्रति आभार व्यक्त गरे। उनले कार्यक्रममा बसेर अवलोकन गरिरहँदा नेपालको भविष्य उपस्थित विद्यार्थीहरूमा देखेको सुनाए। पछिल्लो पुस्तामा देशमा केही हुन्न भन्ने निराशा व्याप्त रहेको प्रति चिन्ता प्रकट गर्दै हरियो राहदानीले विश्वभर खेपिरहेको अपमान आफूले प्रत्यक्ष देखेको उनले बताए। अहिलेको नेतृत्वले बिगारेको देश सुधार्ने जिम्मेवारी पनि अबको युवा पुस्ताले लिनुपर्ने उल्लेख गरेका उनले सकेसम्म विदेश नजान र गए पनि ज्ञान, सिप र दक्षता हासिल गरेर मातृभूमिमै फर्किन अपिल गरे। उनले कार्यक्रममा उपस्थित सबैलाई सम्मानका लागि धन्यवाद दिए।

कार्यक्रमका प्रमुख अतिथि किराँतीले आफ्नो हात बाट साह्रै महत्त्वपूर्ण व्यक्तित्वहरूलाई सम्मान गर्ने अवसर पाएको भन्दै आयोजकलाई धन्यवाद दिए। उनले सबैलाई उज्ज्वल भविष्यको शुभकामना पनि दिए।

कार्यक्रमकै अवसर पारेर मनास्लु वर्ल्ड कलेजमा अध्यापनरत शिक्षकहरू मध्य कार्यसम्पादनको आधारमा उत्कृष्ट ६ जना शिक्षक/शिक्षिका तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने विभिन्न परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया