बीपी प्रतिष्ठानमा जारी गतिरोध अन्त्य लागि ६ बुँदे सम्झौता हुँदै

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोध अन्त्य गर्नका लागि ६ बुँदे सम्झौता भएको छ । आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनबीच शनिबार प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा ६ बुँदे सहमति भएको हो । जसअनुसार गत वर्ष पुस २० र माग २५ गते प्रतिष्ठानद्वारा प्रकाशित विज्ञापन बमोजिम सुरु भई स्थगित रहेको बढुवा प्रक्रियाको अन्तर्वार्ताको मिति आगामी फागुन ६ गतेबाट शुरु गर्ने र सो को नतिजा १ हप्ताभित्र प्रकाशित गर्ने सहमति भएको छ । त्यस्तै भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू प्रति प्रतिष्ठान व्यवस्थापन पक्षले पूर्वाग्रह राखी कुनै पनि प्रकारको कारबाही नगर्ने सहमति गरिएको छ । भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू उपर भविष्यमा कुनै प्रकारको कानुनी झमेला आइपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने पनि सहमति गरिएको छ । त्यसैगरी, आन्दोलनका कारण विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई गम्भीरतापूर्वक मनन गर्दै तत्कालै पठनपाठन सुचारु गर्ने र त्यसबाट भएको क्षतिलाई आपसी समझदारीमा न्यूनीकरण गरिने सहमति पनि भएको छ । साथै भविष्यमा पठनपाठनको कार्यमा असर पुग्नेगरि कुनै गतिविधि नगर्न÷नगराउन सबै सरोकारवाला पक्ष प्रतिबद्ध रहने पनि सहमति पत्रमा उल्लेख गरिएको छ । सहमतिसँगै नियमित वृत्ति विकासको माग गर्दै एक महिनादेखि काम छाडेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका शिक्षक र कर्मचारी काममा फर्किएका छन् ।

प्रतिक्रिया