उद्योगी अरुण चौधरीसहित तीनै जनाको म्याद आज थप हुने

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनै जनाको म्याद आज थप हुने भएको छ । कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर ४ दिनदेखि थुनामा छन् ।माघ १८ गते पक्राउ परेका उनीहरुलाई जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । सो म्याद सकिएको र अनुसन्धान बाँकी नै रहेकाले प्रहरीले  आज अदालतमा म्याद थपका लागि उपस्थित गराउने भएको हो । पक्राउ परेका सबै जना हाल ग्राण्डी अस्पतालमा भर्ना भएर बसेका छन् ।अस्पतालमा रहेका तीनै जनासँग सीआइबीले बयान लिईरहेको छ । बयानका क्रममा चौधरीले अदालतको निर्णय आफूलाई मान्य हुने बताउँदै जग्गाको स्वामित्व दाजु विनोदसमेत संगोलमा रहँदा आफूहरुको नाममा आएको बताएको प्रहरी श्रोतको भनाइ छ । पक्राउ परेका अरुण नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य विनोद चौधरीका भाई हुन् । 
 

प्रतिक्रिया