श्रीसिया सुक्खा बन्दरगाहबाट आयातकर्ताको सामान चोरी

पर्साको वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्डभित्रैबाट नेपाली आयातकर्ताको सामान चोरी भएको छ । पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरीद गरी ल्याएको २० फुटे आठवटा कन्टेनरमध्ये दुईवटा कन्टेनरको सिल काटेर सामान चोरी भएको हो । दुबई हुँदै विशाखापटनम् बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठवटा कन्टेनर आयात गरी ल्याएकोमा दुई वटा बाट सामान हराएको हो । कन्टेनरमा रहेको ११ वटा कार्टुनको १३ लाख ४२ हजार मूल्य बराबरको ४ सय ४० किलो सुकुमेल चोरी भएको हो । चोरी भएको अर्काे कन्टेनरको सामन परीक्षण हुन बाँकी छ । यसअघि पनि सुक्खा बन्दरगाह भन्सारबाट प्रिस्टिन भ्यालीका कर्मचारीकै संलग्नतामा १० वटा कन्टेनर चोरी भएको घटना सार्वजनिक भएको थियो । सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्टका कामदारको मिलेमतोमा सामान चोरी भएको भन्दै निर्यातकर्ताले क्षतिपूर्ति माग गरेको छ । भन्सार यार्डबाट सामान चोरी भएको विषयमा अध्ययन भैरहेको बन्दरगाह सञ्चालक गर्ने कम्पनीको भनाइ छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।  यार्डभित्र दुई महीनादेखि होल्ड भएको कन्टेनरको डिजिटल सिल तोडेर सामान चोर्नु निकै डरलाग्दो कुरा भएको वीरगंज भन्सार क्लियरिङ एजेन्ट सङ्घले जनाएको छ । चार वर्षअघि हिमालयन टर्मिनलले सुक्खा बन्दरगाह सञ्चालन गर्दा सुक्खा बन्दरगाह भन्सारबाट विदेशी मदिरा र टिभी चोरी भएको थियो ।

प्रतिक्रिया