नक्कली भुटानी प्रकरणमा आज आदेश आउने सम्भावना

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आउने सम्भावना रहेको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो । अदालतले उच्च अदालत पाटनले जिल्ला अदालतले गरेको थुनछेक आदेश सदर वा बदर गर्ने दुईमध्ये एक निर्णय गर्ने छ । त्यस्तै मुद्दाका प्रतिवादीलाई रिहा गर्ने वा मुद्दाको पुर्पक्ष गर्ने निर्णय सुनाउनेछ । उच्च अदालत पाटनमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएको हो । मंगलबार प्रतिवादी तर्फका वकिलको बहस सकिएको थियो भने बुधबार र बिहीबार खाजा समयअघि सरकारी वकिलको बहस भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले १ असारमा थुनामा पठाउन दिएको आदेशविरुद्ध उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । लामो समयपछि अदालतले निरन्तर सुनुवाइ गरेर जिल्लाको आदेश सदर गर्ने वा बदर गर्ने भन्ने निर्णय गर्न लागेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ३० आरोपितविरुद्ध चारवटा कसुरमा मुद्दा दायर भएको थियो । सो मुद्दामा ठगी प्रकरणमा मुछिएकाविरुद्ध ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधका साथै किर्तेमा समेत सजाय माग दाबी गरिएको छ । यो अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जना छन् ।। 

प्रतिक्रिया