कुशलबुद्धि भएकाहरूको भेलामा उभिएर कुबुद्धि भएकाले अर्ती उपदेश दिन थालेपछी बौद्धिक वर्गले कसरी ग्रहण गर्ला उपदेश ?
असल बाटोमा लगाउन ज्ञान र नीतिका कुरा सिकाउने गुरु नै पटमूर्ख भएपछी दीक्षित हुने वर्ग कस्तो निस्केला ?पृथ्वीपथ माथि प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति यतिखेर चर्चाको शिखरमा छ।बौद्धिक वर्गमाथि दुर्बुद्धिको हैकम भनेर चर्चा चलेको केपी ओलीको भाषण राष्ट्रनायक पृथ्वीनारायण शाहमाथि गरिएको अपाच्य टिप्पणी मात्र हो।मगजले ठाउँ छोडेपछि मुटु कलेजो चलेर के गर्नु बुद्धि सुद्धि हराउँछ भन्ने अग्रजको भनाई पुष्टि गरिदिएका छन् प्रधानमन्त्री केपी ओलीले।केपी ओलीले पृथ्वी नारायण शाहप्रति गरेको टिप्पणी उनकै झोला बोक्ने हरूलाई समेत पचेन।
नेपाली कांग्रेसका नेता शंकर भण्डारीले आफ्नो पार्टी सभापति लाई गरेको सरकार छोडेर कांग्रेसको साख बचाउने आग्रह कांग्रेसजनमा सोचनीय विषय बनेको छ यतिखेर। उता माओवादीका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना टुकडीलाई दिएको ढुंगाको जवाफ ईंटाले दिनु भन्ने आदेश केपी ओलीको शैलीसँग मिल्दो जुल्दो छ।प्रमुख दुई कम्युनिष्ट पार्टीका शिर्ष नेताको पछिल्ला अभिव्यक्तिले दिएको स्पष्ट संकेत मुलुक अशान्त होस,एक नेपाली अर्काे नेपालीसँंग लडिरहोस् अनि आफू सत्ता सुखमा रमिरहुँ भन्ने कुरा पुष्टि भएको छ।प्रचण्ड र ओली, राजनीतिक स्थायीत्व होस भन्ने चाहदैनन् ।
कांग्रेस सभापति शेर बहादुर देउवालाई कानो गोरूलाई ओैंशी न पूर्णिमा भनेझै देश जाओस भड्खालोमा मतलव छैन,उनलाई सत्ता चाहिएको छ।तीन राजनीतिक दलका तीन शीर्ष नेताकै कारण गणतन्त्र धरापमा छ भन्ने कुरामा अब शंका रहेन।
राजावादीको गणतन्त्र सकेर राजतन्त्र ब्युँउताउँने आन्दोलनको जगमा पनि नयाँपन देखिएन।गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन यो सत्यसँग सबै जानकार छन्। नागरिक समाज सक्रिय हुने तरखर गरिरहेको छ । ६२–६३ का नागरिक अभियन्ताहरू पाटनढोकातिर जम्मा हुन थालेका छन्।
धमिलो पानिमा माछा खोज्न पल्केका अवसरवादीहरु विभिन्न छद्म भेषमा सक्रिय हुनथालेको संकेत देखिन थालेको छ।दाताको दानमा सुखानुभूति गर्ने गिने चुनेका सुकिला मुकिला एजेण्ट हरू पाटनतिर दिक्षान्त हुनु बौद्धिक दलालीको दरिलो नमूना हो। सोझा सिधा जनताको टाउको गनेर राजनीतिको रोटी सेक्ने काम अब बन्द हुनुपर्छ।सच्चा देशभक्त नागरिक हुँ भन्नेहरूले वर्तमान कुशासनको विश्वासिलो बिकल्प सहित राजनीतिक मैदानमा उपस्थित हुन ढिला गर्नु हुँदैन ।
भोकको ओैषधी भोजन हो सौन्दर्यता होईन । कुशासनको उपचार सुशासन हो आश्वासन होईन।देश हाँक्ने नागरिक शक्तिको खाँचो छ यतिबेला।हटेर होईन डटेर देश बचाउन कम्मर कसौं अन्यथा नेपाल र नेपालीको गौरवपूर्ण इतिहास इतिहासमै सिमित नहोला भन्न सकिन्न।