अन्तर्वार्ता

आस्थाको केन्द्र बन्दै बागेश्वरी मन्दिर

आस्थाको केन्द्र बन्दै बागेश्वरी मन्दिर

नेपालगञ्ज । हिन्दू धर्मावलम्वीहरुका लागि नेपालगन्जको प्रसिद्ध मन्दिर वागेश्वरी आस्थाको केन्द्रविन्दूका रुपमा परिचित छ । 

पश्चिम नेपालकै शक्तिपीठ वागेश्वरी मन्दिर श्रद्धालुभक्तजनको पूजापाठ गर्ने थलोका रुपमा मात्र नभई मनले चिताएको सबै कुरा पुग्ने गहिरो धार्मिक विश्वास रहेको छ । 

त्रेता युगमा शक्तिदेवीको जिब्रो पतन हुँदा शक्तिपीठका रुपमा वागेश्वरी मन्दिरको स्थापना भएको धार्मिक मान्यता रहेको छ । एक मात्र जुँगे महादेवको मूर्तिले वागेश्वरी मन्दिरको महत्वलाई झनै प्रगाढ बनाएको पाइन्छ । 

महत्वपूर्ण चाडपर्वमा मात्र नभई सँधै भक्तजनहरुको घुइचो रहने वागेश्वरी मन्दिरमा आजदेखि शुरु भएको वडादशैंमा भक्तालुहरुको घुईचो लागेको छ । वागेश्वरी मन्दिरमा नवरात्रीको पहिलो दिन घटस्थापनादेखि पुजा पाठ शुरु भएको हो । 

धार्मिक परम्परा अनुसार नवरात्रीको पहिलो दिनदेखि बिधिवत पूजापाठ गरी आम भक्तालुहरुले पुजापाठ गर्न पाउने ब्यबस्था मिलाईएको छ । आजदेखि शुरु भएको नवरात्रीमा राष्ट्रकल्याण, जनकल्याण र राज्यकल्याण तथा देशमा शान्ति अमनचयनको कामनासहति पूजापाठ गरिएको छ । 

वागेश्वरी मन्दिर परिसरमा खडेश्वर जुंगे महादेव, गणेश, नागदेवता, शनिदेव, हनुमान लगायतका मन्दिर रहेकाले नेपाल लगायत भारतका विभिन्न ठाउँबाट भक्तजनको घुँइचो लाग्ने गरेको छ । धार्मिक अस्थाका साथै पछिल्लो समय वागेश्वरी मन्दिरलाई धार्मिक पर्यटनका रुपमा समेत विकास गरिएको छ । 

वागेश्वरी परिसरमा हरेक सोमबार महाआरती गरिँदै आएको छ ।